महिला क्रिकेट टी–२० च्याम्पियनसीपका लागि प्रारम्भिक टोलीको घोषणा

जनसम्मत
जेठ २१, २०७९, शनिबार

मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसीपका लागि (शनिबार) नेपाल क्रिकेट संघ (क्यान)ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तिम चरणका लागि यो नेपाली टोलीको घोषणा गरेको हो। यद्यपि, अन्तिम टोली घोषणा गर्न बाँकी छ। अन्तिम नामावली घोषणा पूर्वको टोलीमा एपीएफकी रेखा रावललाई प्रशिक्षणमा बोलाइएको छ।

यस्तै, गण्डकी प्रदेशबाट क्रिकेट खेल्दै आएकी मनीषा उपाध्याय पहिलोपटक राष्ट्रिय टोलीको क्याम्पमा अटाएकी छिन्। ईश्वरी विष्ट र ममता चौधरीलाई पनि प्रशिक्षणमा बोलाइएको छ। केही साताअघि सिनियर टोलीबाट युगान्डाविरुद्ध डेब्यू गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनन्।

प्रतियोगिता जुन १७ देिख २५ सम्म मलेसियामा हुँदैछ। १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसिया सहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतरा र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन्।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुन लागेको प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ।
नेपाल सम्मिलित समूहमा बहराइन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन्। समूहको प्रतिस्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको प्रतिस्पर्धापछि दुवैै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

फाइनलमा प्रवेश गरेका २ टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एसियाकपमा छनोट हुनेछन्। छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेशजस्ता टोलीसँग एसियाकप खेल्नेछन्।

मलेसियाको किनरारा एकेडेमी ओभल र युकेएम–वाईएसडी क्रिकेट ओभल मैदानमा आयोजना हुने प्रतिस्पर्धामा नेपालले जुन १७ मा भुटान विरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ। यो खेल नेपालले युकेएम–वाईएसडी क्रिकेट ओभलमा खेल्नेछन्।

यस्तै, नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइन विरुद्ध खेल्नेछ। यस्तै, अन्तिम खेल नेपालले जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ।