‘मन जलेर गयो परानी’ लोकगीतको म्युजिक भिडियो सार्वजनिक

जनसम्मत
जेठ २२, २०७९, आइतबार

लोकगीत ‘मन जलेर गयो परानी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

‘बन जलेर भयो खरानी, साइली मन जलेर गयो परानी’ बोलको म्युजिक भिडियोलाई शुक्रबार मात्रै जीबी सुनारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको शब्द, लय र संगीत संयोजन पनि उनै जीबी सुनारले नै गरेका छन्। म्युजिक भिडियोमा लिल हमाल (आकास), अन्जना सुनार, हरिभद्र घिमिरे, सुमन परियार लगायतका कलाकारहरुको अभिनय छ। जीबी सुनारकै परिकल्पना र निर्देशन रहेको परानीको सन्तोष सुनारले छायांकन गरेका हुन्।

बिदेशिन बाध्य धेरै अभागी नेपाली साइला र साइलीहरुको अवस्थालाई गीतले प्रतिनिधित्व गर्दछ।

गरीबीको विवशताले मायाको सुन्दर संसार सजाउन बिदेसिएको अभागी साईलाको मर्मस्पर्शी कथालाई गीतमा उनिएको छ। भर्खरै बिहे गरेर ल्याएकी प्राणप्रिय साइलीलाई एक्लै घरमा छाडेर बिदेशी मरुभुमिमा जोखिमपुर्ण काम गरेर पनि खुसी हुँदै घर फर्किएको साइलो साइलीको अभावमा भावबिव्हल मात्रै भएन उनकै शोकमा प्राणत्याग समेत गरेको मर्मस्पर्शी र मानवीय कारुणिक समवेदनाहरुलाई गीतमा समेटिएका छन्।

साइली, हाम्रो समाजको उदाहरणको पात्र हुन्। उनि हाम्रै समाजका चेलिबेटी बेचबिखनमा संलग्न नरपिशाचहरुको चक्रब्युहमा परेर आफूलाई प्राण भन्दा बढी माया गर्ने श्रीमान ( साइलो) लाई छाडेर किन र कसरि जान बाध्य भइन भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ। साइलीको बियोगमा परेर साइलाले मदिरालाई नजिकको साथी किन बनायो र कसरी आफ्नै जीवनलाई कसरि अन्त्य गर्न पुगे भन्ने कुरा म्युजिक भिडियोमा देखाइएको छ।