पोखरामा माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

जनसम्मत
जेठ २२, २०७९, आइतबार

पोखरामा असोजको पहिलो साता माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आउँदो असोजको ५ देखि ९ गतेसम्म तेस्रो संस्करणको माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

अन्तर्राष्ट्रिय तेक्वान्दो संघले स्वीकृत प्रदान गरेपछि पोखरामा प्रतियोगिताको तयारी तीव्र पारिएको हो।

विश्वका ५० भन्दा बढी देशका एक हजार ५ सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरुका परिवारसहित २ हजारभन्दा बढी विदेशी खेलाडी पोखरा आउने अनुमान गरिएको छ। करीब ५ सय भन्दा बढी नेपाली खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताइएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रकाशशम्शेर राणाले बताए ।

प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ। यसअघिका वर्षमा काठमाडौंमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता भएको थियो। गत वर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनिएपनि कोभिड–१९ कै कारण प्रतियोगिता हुन सकेको थिएन।

विश्व तेक्वान्दो संघले मान्यता प्राप्त गरेको जि.टु खेल खेलाइने भएकाले सहभागी संख्या अझै बढ्न सक्ने अनुमान गरिएको सदस्य सचिवजगनबहादुर गुरुङले जानकारी दिए।

जसमा १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउनेछन्। प्रतियोगितामा सिनियर महिला तथा पुरुषतर्फ ८÷८ र जुनियरतर्फ १०÷१० वटा तौल समूहका खेल हुने महासचिव दिपराज गुरुङले बताए।

दीपक बिष्ट, संगीना बैद्य, सपना मल्ल जस्ता थुप्रै अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न यस प्रतियोगिता कोसेढुंगा सावित हुने विश्वास लिइएको छ।