विप्लव नेतृत्वको पार्टीद्वारा आन्दोलनका कार्यक्रम घोषणा

जनसम्मत
जेठ २३, २०७९, सोमबार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरोकारका विषयलाई अघि सार्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

सो पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै विदेशी हस्तक्षेप बढेको तथा महंगी र भ्रष्टाचारले सीमा नाघेको भन्दै जेठ २५ देखि असार ५ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जारी गरेको विज्ञप्तिमा जेठ २५ गते किसानहरुले राजमार्ग, काठमाडौं उपत्यकासहित देशव्यापी विरोध प्रदर्शन गर्ने र जेठ २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेपविरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम रहेको जनाएका छन्।

त्यस्तै जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घेराउ, असार २ गते राजबन्दी रिहाइको पक्षमा देशव्यापी मसाल जुलुस र असार ५ गते महंगी र भाडा वृद्धिविरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम राखिएको प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। देश र नेपाली जनताको जीवनमा पैदा भएका गभीर समस्याको समाधानार्थ तत्कालीन र दीर्घकालीन मुद्दालाई लिएर संघर्ष गर्नुको विकल्प जनताका अगाडि नरहेको सो पार्टीले जनाएको छ।

रातोपाटीमा समाचार छ।