१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा भुटानमाथि नेपाल विजयी

जनसम्मत
जेठ २३, २०७९, सोमबार

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपालले भुटानमाथि ४ विकेटले जित निकालेको छ।

भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटाएको थियो। नेपालको जितमा सानु राजवंशीले नटआउट ३० रन बनाइन्। यस्तै, साना प्रभीनले १२ रन जोडिन्। बलिङतर्फ भुटानकी साङ्ए वाङ्मोले ३ विकेट लिइन्।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो। भुटानका लागि साङ्ए वाङ्मोले ११ रन बनाइन्। बलिङतर्फ नेपालकी अनु कडायत, मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले २/२ विकेट लिइन्।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित बनेको थियो। अब नेपालले आफ्नो चौथो खेलमा भोलि (मंगलवार) थाइल्यान्डसँग खेल्नेछ।

६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आउँदो वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुन लागेको यू–१९ महिला टी–२० विश्व कप खेल्ने अवसर पाउनेछ।

प्रतियोगितामा समान ३/३ खेल जित्दै यूएई शीर्ष र थाइल्यान्ड दोस्रो स्थानमा छ। नेपाल भने तेस्रो स्थानमा छ।