आइतवारको बिदा प्रभावकारी भएन, असार १ गतेदेखि खारेज

जनसम्मत
जेठ २३, २०७९, सोमबार

सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गर्ने भएको छ।

आज (सोमवार) बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको बैठकमा सहभागी एक मन्त्रीले जनसम्मतलाई बताएको छ।

पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा २ दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, आइतवारको बिदाका कारण सरकारी कामकाज भद्रगोल भएको र अपेक्षाअनुसार पेट्रोलियम पदार्थको खपत कम नभएको निष्कर्ष निकाल्दै सरकारले आइतवारको बिदा खारेज गर्ने निर्णय गरेको हो।

परीक्षणको रूपमा मात्रै २ दिनको बिदा लागू गरेपनि सरकारी कार्यालय, निजी क्षेत्र, शैक्षिक क्षेत्र संचारमाध्यमलगायतको सुझावका आधारमा मन्त्रीमण्डलको आइतवारको बैठकले बिदा खारेजीको निर्णय गरेको हो।