कलाकार आलोक गुरुङलाई ललितकला पुरस्कार

जनसम्मत
जेठ २३, २०७९, सोमबार

कलाकार आलोक गुरुङलाई यस पटकको ललितकला पुरस्कार–२०७८ बाट पुरस्कृत गरिने भएको छ।

कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा संचालित उक्त पुरस्कार यस वर्ष कलाबार गुरुङलाई प्रदान गरिने भएको हो।  प्रत्येक २/२ वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशी ११ हजार १ सय ११, ताम्रपत्र र दोषल्ला रहेको छ।

वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरेका हुन्। पुरस्कार पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले संचालन गर्दै आएको छ।

पोखरेली युवा सांस्कृति परिवार (पोयुसाँप)का अध्यक्ष मोती भुजेलले कलाकार गुरुङले नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पु¥याएको योगदानको कदर स्वरुप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए। उनका अनुसार प्रतिभा छनौट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनको संयोजकत्वमा बनेको समितिले गुरुङलाई सर्वसम्मत रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।

कलाकार गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा क्रियाशील छन्। ‘कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो’ भन्ने धारणा राख्ने गुरुङले एक हजार भन्दा बढी मुहारचित्र तथा अन्य सयौं सिर्जना गरिसकेका छन्।

यसअघि ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्गी, मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसकेका छन्।