गण्डकीको नीति तथा कार्यक्रम: ‘प्रदेश सरकारसँग बा–आमा’

मानव सेवा आश्रम तथा वृद्धाश्रमहरूमा आश्रित दीर्घ रोग लागेका बिरामीले सेवन गर्ने औषधि निःशुल्क उपलब्ध गराउने भएको छ

जनसम्मत
जेठ २४, २०७९, मंगलवार

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभा नदिपुरमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। बहालवाला वर्तमान सरकारको यो अन्तिम नीति तथा कार्यक्रम हो।

प्रदेश सरकारले प्रदेशबासीको स्वास्थ्य अवस्थामा सुुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ। त्यस्तै, प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माण, कृषि, रोजगारी र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रदेश सरकारले प्रदेशबासीको स्वास्थ्य अवस्थामा सुुधार ल्याउन संघ र स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्दै लैजाने नीति अवलम्वन गर्ने भएको छ।

सरकारले ज्येष्ठ नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न ‘प्रदेश सरकारसँग बा–आमा कार्यक्रम’ संचालन गर्ने भएको छ।

मानव सेवा आश्रम तथा वृद्धाश्रमहरूमा आश्रित दीर्घ रोग लागेका बिरामीले सेवन गर्ने औषधि निःशुल्क उपलब्ध गराउने भएको छ। गण्डकी सरकारले बिरामीलाई आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने उल्लेख छ। अघिल्लो वर्षदेखि सुरु भएको यस कार्यक्रमलाई अहिले नीति तथा कार्यक्रममै समेटिएको हो।

प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवालाई नीति तथा कार्यक्रममा प्रमुख प्राथमिकता दिइएको छ। गण्डकी प्रदेश सरकारले प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गर्ने घोषणा गरेको हो।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वाचन गरेको नीति तथा कार्यक्रममा प्रदेशमै मुटुरोग अस्पताल स्थापना गर्ने उल्लेख गरेको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गुरुङले भने, ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० शैयाको मुटुरोग अस्पताल स्थापना गरिनेछ।’

प्रदेश सरकारले मंगलबार ल्याएको प्रदेशको नीति तथा कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गरिने उल्लेख छ।

त्यस्तै, प्रदेश भित्रका नागरिकको मिर्गौला नियमित डायलासिस गर्न हाल सेवा दिइरहेका अस्पतालहरुको क्षमता बिस्तार गर्नुका साथै गुणस्तरीय सेवा प्रदान गरिने नीति कार्यक्रममा जनाइएको छ। सरकारले गोरखा जिल्ला अस्पताल, लमजुङ जिल्ला अस्पताल र नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा मिर्गौला डायलासिस सेवा बिस्तार गर्ने जनाएको छ।

प्रदेश सरकारले स्पाइरल ईञ्जुरी तथा बौद्धिक अपाङगता भएका व्यक्तिहरुको सहज जीवनयापन र पुर्नस्थापनाका लागि ह्वीलचेयर, कृतिम हातखुट्टा लगायतका सहायक सामग्री निःशुल्क उपलब्ध गराउने भएको छ। साथै उनीहरुको सहज उपचारका लागि आवश्यक प्रवन्ध मिलाइने नीति सरकारले लिएको छ।

प्रदेश सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र थरुहट आन्दोलनका सहीद तथा वेपत्ता भएकाहरुका परिवार एवं घाइते, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार निःशुल्क गर्ने भएको छ। प्रदेश प्रमुख गुरुङले प्रदेश मातहतका सबै अस्पतालमा उनीहरुको उपचार निःशुल्क गर्ने व्यवस्थाको सुनिश्चित गरिने उल्लेख गरेका छन्।

गण्डकी प्रदेश सरकारले सुन्तला खेती गर्ने किसानलाई अनुदान दिने उल्लेख गरेको छ। गण्डकी सुन्तलाको उच्च सम्भावना भएको प्रदेश रहेको भन्दै यसलाई सुन्तलाकोे पकेट प्रदेशका रूपमा विकास गर्ने कार्यक्रम सरकारले ल्याएको प्रमुख गुरुङले उल्लेख गरेका छन्।

पर्यटकीय क्षेत्रमा पदमार्गको राम्रो व्यवस्था, होमस्टेको सुधार, गण्डकी टोल निमार्ण गर्ने, कालीगण्डकी जल यातायात संचालन गर्ने लगायताका कार्यक्रम पनि अघि सारिएको छ।गण्डकी प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रम पनि सुरु गर्ने भएको छ।

धेरैजसो कार्यक्रमहरू गएको वर्षकै नीति तथा कार्यक्रममा समेटिएको र अहिले पनि त्यसैलाई निरन्तरता दिएको छ। पर्यटन, कृषि, सहकारी तथा युवा रोजगारको राम्रो नारा दिइएको नीति तथा कार्यक्रमले यस वर्ष नतिजा दिने प्रदेश सरकारको विश्वास छ।

संविधानतः बजेटभन्दा अघि नीति तथा कार्यक्रम पेश र पारित गर्नुपर्छ । गण्डकी प्रदेश सरकारले १ असारमा बजेट ल्याउँदैछ।

गण्डकी प्रदेश आब २०७९।८० को नीति तथा कार्यक्रम (हेर्नुहोस, नीति तथा कार्यक्रमको पूर्ण पाठ)