पोखरा स्पोटर्स अवार्डको तयारी तीब्र, विभिन्न समितिहरु गठन

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र खेलकुदमा कलम चलाउने उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ

जनसम्मत
जेठ २८, २०७९, शनिबार

छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ।

आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेलाका सहभागीले मञ्चका अध्यक्ष दीननाथ बराल संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। जसको सह–संयोजकमा उपाध्यक्ष सुरज श्रेष्ठ छन्।

मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा प्रतिभा छनोट समिति गठन गर्ने निर्णय गरेको छ। समितिको सह–संयोजकमा सन्देश श्रेष्ठ, सदस्यमा विजय नेपाल र पदेन सदस्यमा मञ्च अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल छन्।

उत्कृष्ट खेल पत्रकार छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेललाई चयन गरेको छ। उपसमितिको सदस्यमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र सन्देश श्रेष्ठ छन्।

मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ। वैदेशिक समन्वय उपसमितिको संयोजकमा पूर्व अध्यक्ष केशव पाठक र सह–संयोजकमा सुर्दशन रञ्जित तथा सदस्यमा उमेश पुन छन्। मञ्चका कोषाध्यक्ष कविता घर्तीमगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति निर्माण गरिएको छ। जसको सह–संयोजकमा एमवी आस्थामगर र सदस्यमा शशीकुमार पौडेल छन्।

यसैगरि, संघसंस्था समन्वय उपसमिति संयोजकमा मञ्चका कार्यसमिति सदस्य नारायण शाही तथा सह–संयोजकमा राजु गिरी छन्। प्रचार प्रसार समितिको संयोजकमा मञ्चका महासचिव राजाराम पौडेल र सह–संयोजकमा मञ्चका सचिव शशीकुमार पौडेल छन्।

कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा मन क्षेत्रीलाई चयन गरेको छ। यसैगरि, सदस्यमा उमा आलेमगर र लक्ष्मी जिसी छन्। भिडियो तथा फोटो व्यवस्थापन उपसमितिको संयोजकमा उमेश पुन तथा सह–संयोजकमा दीपक मुल्मी चयन भएका छन्। केही उपसमिति छिट्टै गठन गरिने र उपसमितिलाई पूर्णता दिने जिम्मा संयोजकलाई दिइएको अध्यक्ष बरालले बताए।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर पोखरा सभागृह हलमा हुने पोखरा स्पोटर्स अवार्ड कार्यक्रममार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र खेलकुदमा कलम चलाउने उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ।