८ औं दिनमा जम्मु कस्मिर पुग्यो ‘पोखरेली डुलुवा टोली‘

जनसम्मत
जेठ २९, २०७९, आइतबार

पोखराको प्रचार–प्रसार गर्दै पश्चिम नेपालसहित भारतका विभिन्न शहरको भ्रमणमा निस्किएको पोखरेली ‘डुलुवा टोली’ भारतको जम्मु कस्मिरमा पुगेको छ।

टोलीले त्यहाँ पत्रकार भेटघाट गरि पोखराको पर्यटनबारे जानकारी गराएको छ।

टोलीले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ। त्यहाँ विभिन्न समुहहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्दै अगाडी बढेको छ।

जम्मुमा रहेका नेपाली समुदायका भारतीयहरुले आफूहरुलाई राम्रो स्वागत, सम्मान गरेको टोली प्रमुख योगेश भट्टराईले बताएका छन्। टोलीले उनीहरुलाई पोखरामा रहेका कस्मिरी समुदायबारे पनि जानकारी दिएको छ। व्यवसायिक सहयोग आदान–प्रदानबारे छलफल गरेको थियो।

‘भारत पुगेपछि केही उल्झन् हुन्छ कि भन्ने सोंचेका थियौं, तर जताततै राम्रो सत्कार पाएका छौं,’ उनले भने।

गत २२ गते पोखराबाट हिंडेको डुलुवाले पहिलो दिन कोलपुरमा, दोश्रो दिन रामपुरमा तेश्रो दिन चण्डीगढ, पाँचौं दिन अमृतसरमा छैठौं दिन जम्मुमा तथा सातौं दिन कस्मिरमा बास बसेको भ्रमण टोलीका सदस्य विकास भट्टराईले जानकारी दिएका छन्।

१९ सदस्यीय भ्रमण टोली यसपछि कारगिल, लदाक हुँदै मनाली पुग्नेछ। मनालीमा त्यहाँका व्यवसायीसँग अन्तरक्रियासँगै प्याराग्लाइडिङको कार्यक्रम समेत हुने भट्टराईको भनाई छ।