पोउवा संघको महाधिवेशन भदौमा,  नयाँ नेतृत्व चयन हुने

जनसम्मत
जेठ २९, २०७९, आइतबार

 

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनको मिति तय भएको छ।

संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार सम्पन्न बोर्ड बैठकले आउँदो भदौ २४ र २५ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।

महाधिवेशनले आउँदो २ वर्षको लागि अध्यक्ष र पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गर्नेछ। संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि संघका पूर्वअध्यक्ष तथा सल्लाहकार दिपक श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। चुनावले अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष,महासचिव,कोषाध्यक्ष,उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ।

निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ। संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना,औद्योगिकबाट १ जना तथा बस्तुगतबाट  ४ सदस्य हुने व्यवस्था छ। ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ। असार मसान्तसम्म सदस्यता नवीकरण गरेका सदस्यहरुले मतदान प्रक्रियामा सहभागी हुन पाउने छन्।