विश्वकप फुटबलमा प्ले–अफबाट अस्ट्रेलियाको इन्ट्री, एसियाबाट ६ देशले खेल्ने

जनसम्मत
जेठ ३१, २०७९, मंगलवार

अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्व कप फुटबलमा छनोट भएको छ।

गएराति भएको खेलमा अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराएको हो।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो। अस्ट्रेलिया सन् २००६ को विश्व कपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ।

फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या कीर्तिमानी बनेको हो।

आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको छ। यस्तै, जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट चरण पार गर्दै फिफा विश्वकप फुटबलका लागि छनोट भएका हुन्।  ३२ टिमले खेल्ने विश्वकपमा यस पटक एसियाबाट अहिलेसम्मकै धेरै टिमले खेल्ने भएको हो ।

यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए। अहिलेका आयोजक कतार बाहेक बाँकी पाँच टिमले रुसमा खेलेका थिए।

त्यसअघि १९९८ देखि २०१४ सम्म लगातार ५ विश्वकपमा एसियाबाट समान ४ टिमले खेलेका थिए। १९९८ अघि भने एसियाबाट विश्वकपमा २ वटा मात्र कोटा थियो। २४ टिमले विश्वकप खेल्दा एसियाबाट थोरै संख्यामा प्रतिनिधित्व हुन्थ्यो। तर, १९९८ मा विश्वकप खेल्ने टिम संख्या बढाएर ३२ बनाएपछि एसियाबाट पनि टिम संख्या बढेको थियो।