नागरिक पत्रकारिता, पत्रकारहरुमा शुद्धिकरण र सिंगो पत्रकारिता क्षेत्रको सुदृढिकरण

सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस

जनसम्मत
वैशाख २१, २०७६, शनिबार

पोखरा । नागरिक पत्रकारिता, पत्रकारहरुमा शुद्धिकरण र सिंगो पत्रकारिता जगतमा सुदृढिकरणको आवश्यकता रहेको पोखराका पत्रकारहरुले बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार पत्रकार महासंघ कास्कीले आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था: हाम्रो अधिकार र जिम्मेवारी’ बिषयक अन्तक्रियामा बोल्दै पत्रकारहरुले उक्त कुरामा जोड दिएका हुन् ।

पत्रकारहरुकै सहयोगमा अर्को कुनै पत्रकारलाई राज्यले अंकुश लगाएर पीडित बनाउनु दुखदायी रहेको पत्रकारहरुले गुनासो गरे । त्यस्तो कार्यमा प्रयोग हुने पत्रकारहरुलाई महासंघले हदैसम्मको कारवाही गर्नुपर्ने उनीहरुले माग राखे ।

आफू निकट पार्टी सत्तामा हुँदा आफ्ना निजी उद्देश्य पूरा गर्ने मनोवृत्तिबाट संचारकर्मी टाढा रहनुपर्ने बताए ।

उक्त अवसरमा वोल्दै नेपाल वार एशोसिएसन केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले संचारकर्मीले व्यवसायिक पत्रकारितासँगै आफ्नो जिम्मेवारी पनि पुरा गर्नुपर्नेमा जोड दिए ।

‘आम नागरिकको हितमा पत्रकारिता हुनुपर्छ,’ उनले भने, ‘नेपालमा अझैपनि छिटो र नौलो प्रस्तुतिको पत्रकारिता विकास हुन सकेको छैन ।’

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रवीन्द्र वास्तोलाले समाचार लेखेकै आधारमा संचारकर्मीको हत्या, हिंशा, धरपकड र साइवर अपराधको नाममा जेल हाल्नु गलत भएको बताउँदै उक्त ऐनको खारेजी गर्नुपर्नेमा जोड दिए ।

अर्का पूर्व अध्यक्ष पुण्य पौडेलले अझैपनि संचारकर्मीहरु सुरक्षित नभएको र समाचार लेखेकै भरमा धरपकड गर्ने काम भइरहेको छ । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले लोकतान्त्रिक गणतन्त्रमा पनि संचारकर्मीमाथि दुब्र्यवहार र धरपकड हुनु विडम्वना भएको वताए । संचारकर्मीले अझैपनि श्रमअनुसारको ज्याला पाउन नसकेको उनले बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासंघ स्थापनाकालदेखि नै लोकतन्त्र, नागरिकका अधिकार, राष्ट्रियता र प्रेस स्वतन्त्रताको लागि खरो ढंगले उत्रने बताए ।