नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा

समसामयिक विषयवस्तुमाथि बोल्ने दृढ प्रयास

जनसम्मत
असार १, २०७९, बुधबार

नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा भएको छ।

पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार ३ गते शुक्रबारबाट पोखरा ४ गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ।

असार ११ गतेसम्म मञ्चन हुने नाटकको पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले लेखन तथा निर्देशन गरेका छन्। सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनेछन्।

नाटक बुधबार बाहेक हरेक दिन साँझ सवा ५ बजे मञ्चन गरिनेछ। यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ। यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गरेका हुन्।

नाटकमा न्यायाधीशको भुमिकामा झलक थापा, इजलास अधिकृतको भुमिकामा सुशिल बराल र मनिषा के.सी, सरकारी वकिलको भुमिकामा अदित भुजेल र निजि वकिलको भुमिकामा एलिसा भोगले अभिनय गर्नेछन्। यसैगरी कार्यालय सहयोगीको भुमिकामा गोपाल भुषाल, शिखाको भुमिकामा अनामिका रिजाल, जीवनको भुमिकामा प्रतीक राउत, रत्नाको भुमिकामा प्रतिभा रिमाल, छिमेकीको भुमिकामा पाल्मती थापा, प्रहरीको भुमिकामा कमल तामाङ, दिप्सना विश्वकर्मा र सुरज तिवारी तथा मनोचिकित्सकको भुमिकामा दिव्य अमृतलाई हेर्न पाइनेछ। नाटकलाई ड्रामाटर्जी गर्न अधिवक्ता एवं लेखक दीपक पराजुलीले साथ दिएका छन्।

हिंसाले पिडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकहरुको भनाई छ। नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उनीहरुको विश्वास छ। पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको उनीहरुको दावी छ।