तनहुँको यातायात व्यवस्था कार्यालय बिमलनगरमा, सेवा सुरु

जनसम्मत
असार २, २०७९, बिहीवार

तनहुँको यातायात व्यवस्था कार्यालय विमलनगरमा स्थापना गरिएको छ।

भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तरगतको यातायात ब्यवस्था कार्यालय तनहुँले असार १ गते (बुधबार)देखि जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ को बिमलनगरबाट सेवा समेत सुरु गरेको हो। यसअघि, डुम्रेको चिसापानीबाट सेवा दिँदै आएको थियो।

कार्यालयले यहि जेठ २५ गतेबाटै सवारी साधनको दर्ता गर्न सुरु गरेको भएपनि हालसम्म दर्ताका लागि सेवाग्राही नआएको सो यातायात व्यवस्था कार्यालय बिमलनगरले जनाएको छ।

त्यस्तै, असार अन्तिम साता वा श्रावण १ गते देखि ट्रायल लिने र पास भएकाहरुलाई लाइसेन्स वितरण गर्ने तयारी समेत गरेको छ। आगामी असार २० गते पछि अनलाइन फारामको आवेदन माग्ने कार्यालयले जनाएको छ।

कार्यालयबाट २ पांग्रे र ४ पांग्रे साना सवारीको ट्रायल लिने र पास भएकाहरुलाई लाइसेन्स वितरण गर्ने तयारी छ। लाइसेन्स नवीकरण पनि संभव भए असारबाटै हुनेछ।

कार्यालयले विमलनगरका स्थानीय लालकुमार श्रेष्ठको घर ५ वर्षका लागि भाडामा लिएर सेवा सुरु गरेको हो। लाइसेन्सको वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका बासिन्दाले पोखरा, चितवन र काठमाडौं धाउनुपर्ने बाध्यता हट्नेछ।