पोखरा स्पोटर्स अवार्डलाई सघाउने खेलकुद संघसंस्थाको प्रतिबद्धता

जनसम्मत
असार ४, २०७९, शनिबार

छैटौं संस्करणको ‘पोखरा स्पोटर्स, अवार्ड २०७८’ सफल बनाउन गण्डकी प्रदेशका खेल संघसंस्थाहरुले सघाउने प्रतिबद्धता जनाएका छन्।

पोखरामा शनिबार आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्न रचनात्मक सुझाब समेत दिएका छन्।

अवार्ड कार्यक्रमलाई विवादरहित बनाउनुपर्नेमा उनीहरुको जोड थियो। खेलाडी, प्रशिक्षक, खेल संघ र लाइफटाइम अचिभमेन्ट अवार्डको लागि प्रतिभा छनोट गर्ने आधारबारे उनीहरुले जिज्ञाशा समेत राखे।

उनीहरुको जिज्ञासालाई प्रतिभा छनोट समितिका संयोजक विनोद लामिछाने, मञ्चका कार्यबाहक अध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मेटाएका थिए। प्रतिभा छनोटको लागि मञ्चले यसापाली तय गरेको मापदण्ड लगायतका गतिविधि थाहा पाएपछि खेलाडी तथा खेल संघसंस्थाहरु सन्तुष्ट देखिए। वास्तविक प्रतिभाले अवार्ड पाउनुपर्नेमा उनीहरुको जोड थियो। यसका अलावा मञ्चले खेलाडी तथा खेल संघसंस्थासँग गर्न खोजेको समन्वयको उपस्थित खेलाडी तथा खेल संघसंस्थाका प्रतिनिधिले प्रशंसा गरे। विगतमा भन्दा यसपाली फरक अनुभुती गरेको उनीहरुको भनाई थियो।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर पोखरा उद्योग वाणिज्य संघको हलमा हुने ‘पोखरा स्पोटर्स अवार्ड, २०७८ कार्यक्रममार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्।

प्रतिभा छनोटको लागि मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा समिति निर्माण गरिएको छ। सो समितिले प्रतिभा छनोट गर्न खेलाडी, प्रशिक्षक र खेल संघसंस्थाको विवरण संकलन गरिरहेको छ। गण्डकी प्रदेशमा रहेका जिल्ला खेल संघसंस्था तथा प्रदेश खेल संघसंस्थालाई पत्राचार गरेर विवरण मागिएको संयोजक लामिछानेले बताए।

वर्ष २०७८ मा प्राप्त उपलब्धीलाई आधार बनाएर उत्कृष्ट ३ नोमिनेसन सार्वजनिक गरिने छ। खेलाडीको लागि वल्डकप, ओलम्पिक, एसियन, साफ, राष्ट्रिय, प्रदेश र जिल्ला स्तरिय प्रतियोगीतााको लागि अंकभार निर्धारण गरिएको छ। प्रतिभा छनोट समितिको बैठकले अंकभार निर्धारण गरेको हो। निर्धारण गरिएको अंकभारको आधारमा प्रतिभा छनोट गरिने तयारी गरिएको उनले प्रष्ट पारे। अवार्ड कार्यक्रमका लागि खेलाडी तथा खेल संघसंस्थाले असार ७ गतेभित्र मञ्चमा विवरण पठाइसक्नुपर्नेछ। यसैगरी, लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघको लागि पनि मञ्चले मापदण्ड निर्धारण गरेको छ। निर्धारण गरिएको मापदण्डको आधारमा उत्कृष्ट छनोट गरिनेछ।