पोखरा–८ को योजना तर्जुमा गोष्ठी, ठूला योजनालाई प्राथमिकतामा राख्न सुझाव

जनसम्मत
असार ४, २०७९, शनिबार

पोखरा महानगरपालिका–८ ले वर्ष २०७९/०८० का लागि वार्षिक योजना तर्जुमा गोष्ठी गरेको छ।

योजना तर्जुमा गोष्ठीमा वडा ८ स्थित विभिन्न संघसंस्था, टोलविकास समिति, क्लव, आमा समुह, वडास्थित राजनीतिक दलका प्रतिनिधि, जननिर्वाचित प्रतिनिधिलगायतको सहभागिता थियो।

कार्यक्रमका सहभागीहरुले वडाभित्र आफ्नों संस्थाले गर्न चाहेका योजनाबारे अवगत गराएका थिए। स–साना गतिविधि भन्दापनि ठूलाखाले योजनालाई प्राथमिकतामा राख्न उनीहरुले जनप्रतिनिधिलाई सुझाव दिएका थिए। भौतिक विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, शौचालय, चौतारा, पार्क निर्माण लगायतमा सहभागीले जोड दिए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष रुद्रनाथ बरालले गोष्ठीमा उठेका सुझाव तथा कार्यक्रमहरुलाई आगामी योजनामा समेटन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए। वडास्थित विभिन्न सामाजिक संघसंस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्ने बरालको प्रतिवद्धता थियो।