राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम

जनसम्मत
वैशाख २१, २०७६, शनिबार

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को शुक्रबारको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले चार बजेपछि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । राष्ट्रपतिले संघीय संसदको कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

सरकारले निर्वाचनको समयमा जनतासामु कवुल गरेअनुरुप चुनावी घोषणपत्रका आधारमा नीति तथा कार्यक्रम बनाउने गर्दै आएको छ । राष्ट्रपति भण्डारीलाई संसद भवन नयाँ बानेश्वरमा पुग्दा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल एवं संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले स्वागत गरेका थिए । संसद बैठक १६ बजेर ८ मिनेटमा शुरु भएको थियो ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनसमेत संघीय संसद भवनमा उपस्थित थिए । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रमका लागि संघीय संसद् भवन सिँगारिएको थियो । चारैतिर नेपाली झण्डा फहराइएको थियो । सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । संघीय संसद् भवनको अगाडिको पानीको फोहोरा चलाएर आकर्षक तुल्याइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रती राष्ट्रपतिसमक्ष पेश गरेका थिए । सरकारको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी तथा विदेशी सञ्चारमाध्यम नयाँ बानेश्वरमा उपस्थित थिए ।