प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा

महिला/पुरुष एकल र डबल्स तर्फ गरी ८७ टिम भिड्ने

जनसम्मत
असार ९, २०७९, बिहीवार

कास्की जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्ने गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो। ४ विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष एकलतर्फ प्रतियोगितको प्रतिस्पर्धामा २९, पुरुष डबल्सतर्फ ४२ टिमको सहभागिता रहनेछ। यस्तै, महिला एकलतर्फ ८ र डबल्सतर्फ ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिएका छन्। भोलि (शुक्रबार) बाट हुने प्रतियोगिताको तयारी समेत सकिएको उनले जनाए।

प्रतियोगिता विहान १० बजेदेखी पोखरा रंगशाला अन्तराष्ट्रिय कर्भडहलमा हुनेछ ।

प्रतियोगिताको पुरुष एकलतर्फ प्रथम हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

पुरुष डबलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, महिला एकलतर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, दोसो र तेस्रोले समान १०÷१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

महिला डबल्सको प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।