पोखरा स्पोर्टस् अवार्डलाई तमुधि यूकेको १ लाख सहयोग

जनसम्मत
असार ११, २०७९, शनिबार

तमुहरुको बेलायतकै सबैभन्दा ठूलो र साझा संस्था तमुधिं युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’लाई तमुधिं युकेले नगद १ लाख सहयोग गरेको हो।

तमुधिं युकेबाट प्राप्त उक्त सहयोग संस्थाका नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले शनिबार मञ्चका अध्यक्ष दिनानाथ बराललाई हस्तान्तरण गरेका छन्।

सो अवसरमा तमुधिं युकेका प्रतिनिधि तथा समाजसेवी मेजर गुरुङले तमुधिं युकेले नेपालमा हुने समाजका हरेक गतिविधिमा सहयोग गर्दै आएको उल्लेख गरे। तमुधिं युकेका अध्यक्ष हितकाजी गुरुङलगायत तमुधिं युके परवारले अवार्ड कार्यक्रमको सफलताको शुभकामना सन्देश समेत पठाएको गुरुङको भनाई थियो। उनले तमुधिं युकेले नेपालको खेलकुदसँगै शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रको विकासका लागि सहयोग गर्दै आइरहेको र त्यसमध्ये ‘पोखरा स्पोर्टस अवार्ड’ समेत रहेको सु्नाए।

तमुधिं युकेले ‘पोखरा स्पोर्टस अवार्ड’ सफल बनाउन गरेको सहयोगप्रति अवार्डका लागि अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक केशव पाठकले आभार व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘यो सहयोगले अवार्ड सफल बनाउन ठूलो सहयोग पुग्नेछ। यसका लागि तमुधिं युके परिवारप्रति आभार व्यक्त गर्न चाहन्छौ।’
तमुधिं युकेले हरेक वर्ष झैं यस वर्ष समेत अवार्डलाई सफल बनाउन अग्रपंक्तिमा रहेर सहयोग गरेको र अन्य संघसंस्थाहरुलाई समेत अवार्ड कार्यक्रमलाई सफल बनाउन उनले आह्वान गरे।

मञ्चका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा अग्रज फोटो पत्रकार तथा समितिका सह–संयोजक सुदर्शन रञ्जित, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठको सहभागिता थियो।

पोखरा स्पोर्टस् अवार्ड अन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन्। वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए। यसैगरी, लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ।

पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सहारा क्लब पोखरा, होटल पौवा लेकसाइड, जुजु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्टलगायतले सहयोग गरेका छन्। विदेशबाट समेत सहयोग आउने क्रम जारी छ।