अविरल वर्षाका कारण पोखरा डुबानमा (हेर्नुहोस, फोटो फिचर)

७० घर डुबानमा, १० घरमा क्षति, ४ कोठा भएको १ तले घर बगाउँदा पूर्ण क्षति, ३ सय मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारियो, २ बाख्रा जीवित र ९ बाख्राको मृत अवस्थामा उद्धार, भैंसीगोठमा चट्याङ पर्दा १ ब्याउने भैंसीको ज्यान गयो

जनसम्मत
असार ११, २०७९, शनिबार

अविरल वर्षाका कारण पोखरा लगायत कास्कीका केही ठाउँहरु डुबानमा परेका छन्।

शुक्रबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण घरहरु डुबानमा परेका हुन्। घर डुबानमा परेकाहरुलाई उद्धार समेत गरेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पोखराको वडा नं २५ को हेमजालगायत म्याग्दी टोल, सुन्दरपुरी, खहरेटारीमा गरी करिब ७० घर डुबानमा परेको हो। घर डुबानमा परेका करिब ३ सय जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको कास्की प्रहरीले जनाएको छ। सुन्दरपुरी बस्ने १० घरमा क्षति पुगेको प्रहरीको भनाई छ। सुन्दरपुरस्थित लक्ष्मी बि.क., बिना बि.क., भुमिका बि.क., बिनिताकुमारी बि.क., भिमा श्रीस थापा, लक्ष्मी बि.क., बसन्त बागदास, झिल्के नेपाली, ईश्वर सापकोटा, सोनिया परियारको घर आंशिक रूपमा क्षति भएको प्रहरीले बताएको छ।

हेम्जाको खहरेटारीस्थित सुरेशबहादुर गुरुङको २ वटा बाख्राको जीवित तथा ९ वटा बाख्राको मृत अवस्थामा उद्धार गरिएको जनाइएको छ।

प्रहरीका अनुसार अविरल वर्षाकै कारण पोखरा–१६, सालघारी देउरालीस्थित रामबहादुर मगरको ४ कोठा भएको १ तले घर बगाएर पूर्ण क्षति भएको छ। सोही स्थानको आसपासका अन्य १३ घरमा समेत क्षति पुगेको छ।

पोखरा–१७, अधेरी कुनास्थित पोखराबेशीबाट अँधेरी कुना जाने भित्री सडक खण्डमा अँधेरीखोलाले कटान गरी पूर्ण रूपमा क्षति पुगेको र आवत–जावतका लागि बाटो पूर्ण रूपमा अवरोध भएको प्रहरीले बताएको छ।

पोखरा–२३ हर्पनका नरबहादुर क्षेत्रीको भैँसी गोठमा चट्याङ पर्दा ब्याउने भैँसीको ज्यान गएको प्रहरीले जनाएको छ।

त्यस्तै, कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सितलागुफा नजिक पोखरा–बाग्लुङ सडक खण्डमा माथिबाट पहिरो आई बाटो अबरोध भएको थियो। हाल, त्यहाँ प्रहरीको प्रयासमा एकतर्फी बाटो खुलाएको जनाइएको छ।

अविरल वर्षाका कारण पोखरा लगायत कास्कीको विभिन्न क्षेत्रमा विपत्ती निम्त्याउँदा उद्धारका लागि कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाको कमाण्डमा खटिएको ४५ प्रहरी र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उद्धार र खोजी कार्य गरेको हो।

 

हेर्नुहोस, फोटो फिचर

तस्बीर श्रोत : कास्की जिल्ला प्रहरी कार्यालय, पोखरा