आमसंचार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री

युनियन अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी घोषणा

जनसम्मत
असार २२, २०७९, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक प्रेसमैत्री हुने दाबी गरेका छन्।

‘यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न हुँदैन, त्यसबारे आफूले निर्देशन समेत दिइसकेको छु।’

नेपाल प्रेस युनियन कास्कीको महाधिवेशन लक्षित भेलालाई बुधबार सम्बोधन गर्दै उनले लोकतन्त्रका लागि लडेका संचारमाध्यममाथि अंकुश लगाउने गरी आमसंचार विधेयक नआउने विश्वास दिलाए। आमसंचार विधेयक संसदमा छलफलका क्रममा रहेकाले पत्रकारको सल्लाह सुझाव अनुसार नै प्रक्रिया अघि बढाउन निर्देशन दिएको मु्ख्यमन्त्री पोखरेलको भनाई छ।

‘रजिष्ट्रारको विषयमा मात्रै कुरा मिलेको छैन। कुन श्रेणीमा राख्ने भन्नेमा मात्रै अलमिलएको छ,’ उनले भने, ‘यसले छिट्टै निकास दिनेछ।’

गण्डकी प्रदेश सरकारले लोककल्याणकारी काम गरेको उनले दाबी समेत गरे। गठबन्धनको सरकार भएका कारण पार्टीले सोचेअनुरुप काम नभएपनि तुलनात्मकरुपमा सन्तोषजनक रहेको बताए।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले आर्थिक वृद्धिदर ८ प्रतिशतसम्म पुग्ने बताए। कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, सह–संयोजक शिरोमणि बराल, काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, युनियनका सल्लाहकार गंगाधर पराजुली, राजबहादुर गुरुङ, नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष अनिता बिन्दु, युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइराला, काँग्रेस महासमिति सदस्य सरस्वती गुरुङलगायतले प्रेस युनियनको महाधिवेशनबारेमा बोलेका थिए।

युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रदीप पौडेलले गरेका थिए।

 

अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी घोषणा

नेपाल प्रेस युनियनको ९ औ आसन्न महाधिवेशनको लागि अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवार घोषणा गरेकी छन्।

पोखरामा बुधबार आयोजित युनियन कास्कीको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेताहरुलाई साथमा राखेर उनले उम्मेदवारी घोषणा गरेकी हुन्।

युनियनकी पूर्व उपाध्यक्ष समेत भएकोले अब अध्यक्षको लागि मैदानमा होमिएको बताइन्। उनले कुनै समूह मिले समूहबाट नभए स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी रहने उल्लेख गरिन्। २ दशकदेखि नेपाल टेलिभिजनमा कार्यरत् अनिता बिन्दुको स्थायी घर गण्डकी प्रदेशकै स्याङ्जा हो।

यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। हालका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल र राजबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

पत्रकार महासंघ कास्की अध्यक्ष समेत रहेकी बिमला भण्डारीले पनि पदाधिकारीमै उम्मेदवारी दिने घोषणा गरेकी छन्।

केन्द्रीय सदस्यका लागि रेम बिक, परशुराम शर्मा लगायतले चाहना व्यक्त गरेका छन्। युनियनको महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौडामा हुँदैछ।