निर्धारित मितिमै हुने भो राष्ट्रिय खेलकुद प्रतियोगिता

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागू हुने गरी मुख्य ट्रफी निर्माण गरिने र उक्त ट्रफीलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकको निर्णय

जनसम्मत
असार २४, २०७९, शुक्रबार

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने उद्घोष गरिएको छ।  युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्धारित मितिमै राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन्।

शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताए।

कोभिडका कारण लामो समयदेखि रोकिएको प्रतियोगिता संचालन गरेर खेलकुद क्षेत्रमा देखिएको नैराश्यता हटाउनुपर्ने उल्लेख गरे। मन्त्री गहतराजले भव्यरुपमा प्रतियोगिता संचालन हुनेमा ढुक्क हुन आग्रह समेत गरे।

‘यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरी प्रतियोगिता संचालन गर्ने छौं। उपयुक्त मौसमलाई छनोट गरी दशैं सकेर प्रतियोगिता संचालन हुनेछ। त्यसले खेलाडीलाई झनै खुशी दिनेछ’ मन्त्री गहतराजले भन्नुभयो, ‘मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ।’

मन्त्री गहतराजले प्रतियोगिता आयोजनाका लागि पोखरामा भौतिक पूर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताए।

गण्डकी प्रदेशको राजधानी पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी खेलकुदमन्त्री गहतराजले शुक्रबार मुल आयोजक समितिको पहिलो बैठक बोलाएका हुन्।

बैठकमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, सातवटै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा तीनवटा विभागीय टिम र एनआरएनका प्रतिनिधिको सहभागीता थियो। प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएन समेत गरी ११ टिमले सहभागीता जनाउने छन्।

बैठकले प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न निर्णयहरु पारित गरेको छ। मन्त्री गहतराजको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पेश गरेका विभिन्न प्रस्ताव सर्वसम्मतले पास गरेको हो। जसअन्तर्गत प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने, विभिन्न ३६ वटा विधामा प्रतियोगिता संचालन गर्ने, प्रतियोगिता संचालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने र १४ वटा उपसमिति गठन गर्नेलगायतका निर्णयहरु छन्।

पहिलो बैठकका मुख्य निर्णयहरु 

१) आगामी असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने।
२) प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिति गठन गर्ने।
३) प्रतियोगिताका लागि १४ वटा उपसमिति गठन गर्ने।
४) प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने।
५) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिस्पर्धा गराउने।
६) नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागू हुने गरी मुख्य ट्रफी निर्माण गरिने र उक्त ट्रफीलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने।
७) लगातार ३ वटा प्रतियोगिता विजेतालाई ट्रफी प्रदान गरिने।
८) प्रतियोगिताका लागि ६० करोड बजेट स्वीकृत।