जापानका पूर्वप्रधानमन्त्री आवेको हत्याराको परिचय खुल्यो

जनसम्मत
असार २५, २०७९, शनिबार

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको गोली हानी हत्या गर्ने ४१ वर्षीय नारा सहर निवासी व्यक्तिको नाम तेत्सुया यामागामी भएको जापानी संचार माध्यमले जनाएका छन्।

घटनास्थलमै नियन्त्रणमा लिइएका उनी अहिले प्रहरी हिरासतमा छन्। उनी जापानी नौसेनाको सेल्फ डिफेन्स फोर्सको पूर्व सदस्य भएको बताइएको छ। तर, रक्षा मन्त्रालयले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन।

जापान ब्रोडकास्टिङ कर्पोरेसन एनएचकेले यामागामीले प्रहरीलाई आवेसँग आफ्नो असन्तुष्टि रहेकाले उनको हत्या गरेको बताएको जनाएको छ।

प्रत्यक्षदर्शीहरूले ठूलो बन्दुक बोकेका एक व्यक्तिले भाषण दिइरहेका पूर्व प्रधानमन्त्री आवेमाथि पछाडिबाट २ पटक गोली चलाएको बताएका छन्।

उनलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिने क्रममा लिइएका तस्बिरहरूमा नजिकै भुँइमा हतियार जस्तो वस्तु देखिन्छ।

दक्षिणी जापानमा भाषण अभियानमा ६७ वर्षीय आवेको उपस्थितिबारे ती आक्रमणकारीले कसरी पहिल्यै जानकारी पाए भन्ने स्पष्ट हुन सकेको छैन। किनभने आवे सो कार्यक्रममा आउने योजना बिहीबार राति अबेर मात्र तय भएको थियो।

एजेन्सी