भुवनले जिते ‘शुक्ला दोधारा चाँदनी’ साइकल यात्राको उपाधि

जनसम्मत
असार २५, २०७९, शनिबार

महेन्द्रनगरका भुवन विष्टले ‘शुक्ला दोधारा चाँदनी’ साइकल यात्रा जितेका छन्।

‘स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ नेपाली सेनाले आयोजना गरेको उक्त साइकल यात्रामा बिष्ट प्रथम भएका हुन्।
कञ्चनपुरको महेन्द्रनगरमा शनिबार नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले आयोजना गरेको साइकल यात्रामा बिष्टले १ घण्टा ४४ मिनेट ५१ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दूरी पार गरे।

साइकल यात्रा सकिएपछि रुद्रध्वज गण मझगाउँ ब्यारेकमा आयोजित कार्यक्रममा नेपाली सेनाको पश्चिम कमाण्डका सेनापति उपरथी हीरालाल जोशीले साइकल यात्रामा विजेतालाई साइकल, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरे।

नेपाली सेनाले यहाँ पहिलो पटक आयोजना गरेको साइकल यात्रामा केशबसिंह भण्डारी दोस्रो र नेपाली सेनाका लालबहादुर गुरुङ तेस्रो भए।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजयी साइकलयात्रीलाई सेनाको पश्चिम कमाण्डका सेनापति उपरथी जोशीले पुरस्कृत गरे।
प्रतियोगितामा ६३ जनाभन्दा बढीको सहभागिता थियो। प्रतियोगितामा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोग नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय, आयोजक श्रीन नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकाल लगायतको सहभागिता थियो।

निःशुल्क स्वास्थ्य शिविर, विभिन्न जनचेतनामूलक कार्यक्रम र सार्वजनिक सम्पत्तिको संरक्षण र सम्वद्र्धनसमेत गर्दै आएको सेनाले स्वास्थ्य र पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि साइकल यात्रा आयोजना गरेको सेनाले जनाएको छ।