तनहुँमा पनि ‘नाइरोबी फ्लाइ’को संक्रमण 

 सतर्क रहन स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्रको आग्रह

जनसम्मत
असार २५, २०७९, शनिबार

गण्डकी प्रदेशको क्षेत्रमा पनि ‘नाइरोबी फ्लाइ’ संक्रमण देखा परेको छ।

गण्डकी प्रदेशको तनहुँ जिल्ला र आसपासका क्षेत्रमा केही दिनदेखि ‘नाइरोबी फ्लाई’ नामक किरा देखिन थाले को हो।
स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्रले यसबाट सतर्क रहन आग्रह गरेको छ।

‘नाइरोबी फ्लाइ’ले टोक्दा वा शरीरमा घर्षण हुँदा बिरामीको छालामा दाग, घाउ आउने पोल्ने जस्ता जटिल समस्याहरु देखिन्छन्।

केन्द्रका अनुसार भारी वर्षा भएर पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ति बलेको अवस्थामा यो किरा झ्याल ढोकाबाट प्रवेश गर्ने र यो किरासँग छोइँदा वा घर्षण हुँदा किराले बचाउका लागि निकालेको एसिडले छाला पोल्ने र जनै खटिरा जस्तो घाउ हुने गर्दछ।

यसअघि भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा ‘नाइरोबी फ्लाई’को प्रकोप देखिएपनि अहिले पहाडी क्षेत्रमा यो किरा देखिन थालेको हो। यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिने क्रममा रहेको केन्द्रले उल्लेख गरेको छ।