आबेको शव टोक्योस्थित निवासमा ल्याइयो

जनसम्मत
असार २५, २०७९, शनिबार

गोली हानेर हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर राजधानी टोक्योस्थित उनको निवासमा ल्याइएको छ।

आबेको शव उनको निवासमा आइपुग्दा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का कालो पोशाक लगाएका सदस्यहरूले सम्मान तथा श्रद्धान्जली प्रकट गरेका थिए। आबेको हत्यामा अहिले विश्वले नै आक्रोश र शोक व्यक्त गरिरहेको छ।

आबेमाथि शुक्रबार बिहान दक्षिणी सहर नारामा चुनावी अभियानको क्रममा भाषण दिइरहेको बेला आक्रमणकारीले पछाडिबाट २ गोली प्रहार गरेका थिए। हत्याको प्रारम्भिक प्रहरी अनुसन्धानबाट हत्याराको एक ‘विशेष संस्था’प्रति गंभीर असन्तुष्टि रहेको पत्ता लगाएको छ।

४१ वर्षीय बन्दुकधारी तेत्सुया यामागामीले आबे पनि सो संस्थाको एक हिस्सा भएको विश्वास गरेको बताइएको छ। उनले आबेलाई घरमै निर्मित बन्दुकबाट आक्रमण गरेको स्वीकारेको तथा उनको घरबाट थुप्रै बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

एजेन्सी