व्यबस्था र प्रणाली नबुझेकाहरुले राष्ट्रपतिलाई होच्याए : प्रधानमन्त्री ओली

सन्दर्भ : नीति तथा कार्यक्रममा राष्ट्रपतिद्धारा ‘मेरो सरकार’ को सम्वोधन

जनसम्मत
वैशाख २१, २०७६, शनिबार

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था र प्रणाली नबुझेकाहरुले राष्ट्रपतिलाई होच्याएको बताएका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आव २०७६/०७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफलमा उठेका जिज्ञासा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अन्तराष्ट्रिय प्रचलनअनुसार ‘मेरो सरकार’ भनी सम्बोधन गर्नुभएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधानको संरक्षक र राष्ट्रको अभिभावक राष्ट्रपतिलाई होच्याउनु भनेको व्यबस्था र प्रणाली नबुझेकाहरुले हो ।’

‘कसको सरकार भन्ने त राष्ट्रपतिले ? कि निबन्ध पढ्ने ?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘यो सरकारको नीति कार्यक्रम भन्दाखेरि अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने ? राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर मात्रै पार्लियामेण्टमा आउँछन् ।’

प्रधानमन्त्री ओलीले यस्तो विषयमा विरोध गर्नु भनेको आफैले स्थापना गरेको प्रणालीको गरिमालाई नबुझेको र उपहास गरेको ठहरिने तर्क गरे ।

‘मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जामानामा हामी पुग्यौ, या त हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौ, या आफूले स्थापना गरेको प्रणाली र राष्ट्रप्रमुखको गरिमा चित्त नबुझेको हो ?,’ प्रधानमन्त्री ओलीले अर्को प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक विकास र उन्नतिका लागि सरकारले सम्पूर्ण प्रयास केन्द्रीत गरेको बताए ।

प्रधानमन्त्री ओलीले सरकारले आफ्ना कुनैपनि कुरालाई अपारदर्शी र अन्योलमा राख्न नचाहेको बताए । उनले भने, ‘लोकतन्त्र, शान्ति, स्थायीत्व, सुशासन, प्रेस स्वतन्त्रता तथा मानवाधिकार र जनताका आधारभूत आवश्यकता पूरा गर्न अनुकुल वातावरण बनाउँदै सरकार अघि बढिरहेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले लिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न गति बढाउनुपर्ने आवश्यकता औल्याए । ‘राष्ट्रिय हित, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र नेपाली जनताको विकासको चाहनमा केन्द्रीत नीतिको विरोध गर्नु उचित होइन,’ उनले भने

प्रधानमन्त्री ओलीले आकर्षक रोजगारीका अवसरको सिर्जना गर्न र राष्ट्रिय भावनाका साथ देशभित्रै केही गर्नुपर्छ भन्ने परिस्थितिको निर्माणका लागि सरकारले आवश्यक व्यबस्था मिलाउने उल्लेख गरे ।

उनले विकास खर्च बढाउन सार्वजनिक खरिदलगायतका प्रक्रियाहरुमा सुधार, ढिलासुस्तीको अन्त्य र हाम्रो आफ्नै सामथ्र्यको विकास गर्नुपर्नेमा जोड दिए ।

‘बेरुजु र भ्रष्टचारलाई छुट्याएर हेर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टचार सरकारलाई सह्य हुँदैन । अनुगमनमाथि अनुगमन हुनेछ । राष्ट्रको सम्पति हिनामिना हुन दिइने छैन । अतिक्रमित सार्वजनिक जग्गाको खोजी जारी छ । सार्वजनिक जग्गा कुन सरकारको पालामा व्यक्तिका नाममा गयो भन्ने कुरा समय क्रममा खुल्नेछन् ।’