लमजुङको बेसीशहर नगरपालिकाको बजेट पारित

जनसम्मत
असार २६, २०७९, आइतबार

लमजुङको बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को लागि ७७ करोड ५३ लाख ३ हजार बराबरको बजेट पारित गरेको छ।

आगामी आर्थिक वर्षका लागि पारित भएको बजेटमा चालुतर्फ ४१ करोड ९३ लाख र पुँजीगततर्फ ३५ करोड ६ लाख ३ हजार रहेको छ।

नगर उपप्रमुख पद्मा गुरुङले प्रस्तुत गरेको बजेटमा आर्थिक विकासतर्फ ६ करोड ९६ लाख ५० हजार, सामाजिक विकासतर्फ ३३ करोड ९३ लाख ८७ हजार, भौतिक पूर्वाधारतर्फ २० करोड १० लाख ८२ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ४६ लाख ५० हजार र संस्थागत विकास तथा सुशानतर्फ १४ करोड ५ लाख ३४ हजार बजेट विनियोजित गरेको छ।

नगरसभाले सामाजिक विकासतर्फ सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा छुट्टाएको छ। नगरपालिकाले शिक्षातर्फ कूल ३०/३० अर्थात् २३ करोड ४९ लाख बजेट विनियोजित गरेको छ। दोस्रो प्राथमिकतामा सडक र तेस्रो प्रथामिकतामा स्वास्थ्य रहेको छ। सडकतर्फ १५ करोड ८६ लाख ७१ हजार अर्थात् २०.४७ प्रतिशत र स्वास्थ्यतर्फ ६ करोड ८ लाख ४५ हजार अर्थात् ७.८५ प्रतिशत बजेट विनियोजित गरेको छ।

नगरसभाबाट कृषि, पशुपालन, उत्पादन र स्वरोजगार क्षेत्रलाई समेत जोड दिइएको छ। सिँचाइ, विद्युत् र ऊर्जा, सूचना प्रविधि तथा सञ्चार, खानेपानी तथा सरफाई, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, न्याय र सामाजिक समावेशीकरण, संस्कृति, कला साहित्य, पर्यटन, उद्योग वाणिज्य, सहकारी, श्रम तथा रोजगारी, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा र सुशासनका क्षेत्रलाई समेत बजेटको व्यवस्था गरेको छ।