तेक्वान्दो च्याम्पियनसीप सफल बनाउन पोखरेलीको प्रतिवद्धता

जनसम्मत
असार २६, २०७९, आइतबार

पोखरामा आगामी असौज ६ देखि ९ गते सम्म आयोजना हुने ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसीप–२०२२’ सफल बनाउन सहभागीहरुले प्रतिवद्धता जनाएका छन्।

प्रतियोगिताको तयारी स्वरुप पोखरामा आज (आइतबार) सम्पन्न बैठकमा सहभागीहरुले प्रतिवद्धता जनाएका हुन्।

बैठकमा आफ्ना भनाई राख्दै प्रतियोगिताको आयोजक संस्थामध्येको एक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष इन्जिनियर सञ्जीव रेग्मीले तेस्रो संस्करणको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसीप पोखरामा हुनु गौरवको विषय रहेको उल्लेख गरे।

उनले भने, ‘प्रतियोगिता आयोजना गर्न जति सहज देखिन्छ त्यसलाई सफल बनाउन उत्तिकै चुनौती पनि छ।’

उनले प्रतियोगितालाई सफल बनाउन भूमिका संपूर्ण पोखरेलीहरुको एकवद्धता आवश्यक रहेको कुरा औंल्याए।

सो अवसरमा आफ्ना भनाई राख्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले यो प्रतियोगिताले विश्वमानै पोखराको शान उच्च हुने गरी साझा कार्यक्रमको रुपमा सफल बनाउन सबैको उत्तिकै दायित्व रहेको उल्लेख गरे। उनले प्रतियोगितामा तिनै तहको शुरक्षा निकायको परिचालन गरी विदेशी खेलाडी र पाहुनाहरुलाई शुरक्षा प्रदान गर्न आफूले भूमिका खेल्ने प्रतिवद्धता जनाए।

सो बैठकमा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले प्रतियोगिता सफल बनाउन पोखरेलीहरुले नै स्वामित्व लिनुपर्ने कुरा औंल्याए। पोखरा खेलकुदको शहरको रुपमा स्थापित भएपनि यहाँ अझै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुनेगरी पूर्वाधारको अभाव खटकिएको बताए। उनले अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता बढाउन संघले सक्रियतापूर्वक काम अघि बढाएको उल्लेख गरे।

बैठकमा तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरिश्वर पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, रेष्टुरेन्ट एण्ड बार एशोसिएसनका अध्यक्ष लक्ष्मण बराल, हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा.रामजी शर्मा, नेपाल पर्यटन वोर्डका पूर्व सदस्य बासुदेव त्रिपाठी, गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडल, कोषाध्यक्ष माइकल कर्माचार्यलगायतले प्रतियोगिता सफल बनाउनेबारे आफ्ना भनाई राखे।

सो अवसरमा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङ ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसीप–२०२२’ को हालसम्म भएको तयारीबारे जानकारी गराउँदै उक्त प्रतियोगितामा करिव १ हजार ५ सय खेलाडीहरुको सहभागिता रहने अपेक्षा गरिएको बताए।