घोडा दौड ‘इक्विस्ट्रियन’ प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमानसहित सबै पदकहरु विभागीय नेपाली सेनाकै हातमा

पाँचौँ संस्करणको इक्विस्ट्रियन (घोडादौड)को हाइजम्प प्रतियोगिता

जनसम्मत
वैशाख २२, २०७६, आइतबार

पोखरा । इक्विस्ट्रियन (घोडादौड)को हाइजम्प प्रतियोगिताको सबै पदकहरु विभागीय नेपाली सेनाले हात पारेको छ ।

उक्त प्रतियोगितामा विभागीय नेपाली सेनाका जगदिश घिर्सिङ र ‘सम्मोहन’ घोडाले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेको छ ।

नेपाल इक्विस्ट्रियन संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् र नेपाली सेनाको संयोजनमा पोखरास्थित फेवाताल किनारमा रहेको बाराहीघाट खेलमैदानमा सम्पन्न पाँचौँ संस्करणको इक्विस्ट्रियन (घोडादौड)को हाइजम्प प्रतियोगितामा विभागीय नेपाली सेनाका जगदिश घिर्सिङ र उनका घाडा ‘सम्मोहन’ ले ५ फिट ९ इञ्चको जम्पमा नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदकको उपाधि जितेको हो ।

यसअघि, रामहरि खड्काको नाममा रहेको ५ फिट ५ इञ्चको कीर्तिमान यसपटक तोड्दै घिर्सिङ र ‘सम्मोहन’ले स्वर्ण पदकसहित नगद पुरस्कार रु २० हजार प्राप्त गरे । नेपाली सेनाकै राजेन्द्र थापाले द्धितिय हुँदै रजत पदकसहित १५ हजार प्राप्त गरे । त्यस्तै, विभागीय सेनाकै करण चौधरी तृतीय हुँदै कास्य पदकसहित १० हजार पुरस्कार पाए ।

प्रतियोगिताअन्तर्गत सोजोन इभेन्टको बाधा दूरी एक मिनेटमा पूरा गरेर नेपाली सेनाका ओमप्रकाश यादवले स्वर्ण पदक जित्दै २० हजार नगद हात पारे । सेनाकै जगदीश घिमिरेले एक मिनेट १३ सेकेण्डमा पार गर्दै रजत जित्दै १५ हजार प्राप्त गरे । मेघविक्रम खड्काले कास्य पदक जित्दै १० हजार पाए ।

टेण्ट पेगिङतर्फको इभेन्टमा नेपाली सेनाका प्राविधिक सुवेदार गोविन्दबहादुर खड्काले स्वर्ण पदकसहित २० हजार जितेका छन् । नेपाली सेनाकै ओमप्रकाश यादवले रजत पदक जित्दै १५ हजार हात पारे । सेनाकै लिलाराम खडकाले काश्य पदक जित्दै नगद १० हजार प्राप्त गरे ।
सेनाकै रोहित गौतमले कास्य पदकसहित नगद रु पाँच हजार प्राप्त गरे ।

विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, पश्चिम पृतनापती काजीबहादुर खत्री, नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, नेपाल इक्वेस्ट्रीयन संघका अध्यक्ष रविराज कर्णिकारले पदक तथा नगद पुरस्कार प्रदान गरे ।