नासिर र डुवानाद्वारा नयाँ किर्तिमान कायम

जनसम्मत
असार २९, २०७९, बुधबार

नेपाल पौडी संघको आयोजनामा भएको १० औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ किर्तिमान राख्न सफल भएका छन्।

नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनट ५.८७ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै १ मिनट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेका हुन्।

यसैगरी, नासिरले १०० मिटर बटरफ्लाईमा १९ मार्च २०२१ मा सिंगापुरमा आयोजना भएको ५१ औं सिंगापुर राष्ट्रिय उमेर समूह आमन्त्रण २०२१ मा सायद हम्जा शाहले राखेको ५९.९४ सेकेन्डको रेकर्ड भंग गर्दै अर्को ५९.६० को नयाँ कीर्तिमान कायम गरेका छन्।

यस्तै, डुवानाले हिट चरणमा आफैले कायम गरेको ३५.८९ सेकेन्डका समयमा सुधार गर्दै ३५.८३ को नयाँ कीर्तिमान कायम गरेकी हुन्।

यसअघि, हिट चरणमा तेन्जिनले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा यसै प्रतियोगताको अघिल्लो संस्करण सेप्टेम्बर २०१९ मा भएको ९ औं एनएसए कप २०१९ मा राखेको १ मिनट ८.२५ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै १ मिनट ५.८७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे।

यस विधामा नासिरले पनि १ मिनट ५.९९ सेकेन्डका साथ कीर्तिमान भंग गरेपनि अन्तिम कीर्तिमान तेन्जिनको नाममै रह्यो। डुवानाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा २५ सेप्टेम्बर २०१९ मा भारतको बैङलोरमा आयोजना भएको एशियन उमेर समूह च्याम्पियनसीप २०१९ मा राखेको ३५.९४ सेकेन्डको किर्तिमानमा सुधार गर्दै ३५.८९ सेकेन्डका नयाँ कीर्तिमान कायम गरेकी हुन्।