लुम्बिनी टिम राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

जनसम्मत
असार ३०, २०७९, बिहीवार

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्दै उपाधि जितेको हो।

दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० काँस्य पदक हात पारेको छ। तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ काँस्य जित्यो। ५० स्वर्णका लागि भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५/५ स्वर्ण हात पारे। गण्डकी र कर्णालीले थप समान ११ रजत र ११ काँस्य पनि जितेको छ। स्वर्णका अलावा कर्णालीले १० रजत र १५ काँस्य हात पारेको छ।

प्रतियोगितामा ४ कीर्तिमान बने। ४ वटै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो। निशा चौधरीले मात्र २ व्यक्तिगत र एक टिममा कीर्तिमान रचिन्। छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटर सिनियरको राष्ट्रिय कीर्तिमानलाई तोडिन्।

१ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरिन्। त्यस्तै, ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसँग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान रचिन्। छात्र लङजम्पमा सुदिप थारुले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए।

३ दिनसम्म संचालन भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन्। प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको तेश्रोपटक हो।