गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित

असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो

जनसम्मत
असार ३०, २०७९, बिहीवार

गण्डकी प्रदेश सरकारको बजेट पारित गरिएको छ।

बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पारित गरेको हो।

सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो। असार १ को बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेको थिएन। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलकै कारण संसद् रोकिएको थियो।

उक्त कार्यक्रम नाम फेरेर ल्याउन अर्थमन्त्री रामजी बराल राजी भएपछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो। ६ दिनको निरन्तर छलफलपछि बिहीबार बजेट पारित गरिएको हो।

यसअघि, एमाले सांसद मायानाथ अधिकारीले खर्च कटौती प्रस्ताव पेस गरेका थिए। उनले सिमल तरुललगायत वैकल्पिक खेतीमा विनियोजन गरेको बजेटले कुनै आर्थिक विकास नहुने भन्दै खर्च कटौती गरी १ रुपैयाँ कायम गर्न भन्दै विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव दर्ता गरेका थिए।

प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा एमाले सांसदहरुले समर्थन जनाएपनि बहुमत नपुगेपछि प्रस्ताव अस्वीकृत भएको थियो।

सिमल तरुललगायत वैकल्पिक खेतीको संभाब्यता अध्ययनमा २० लाख विनियोजन गरिएको छ। त्यस क्रममा अधिकारीले यो बजेटमा एमालेको असहमति रहेको बताए। ‘२७ करोड बराबरको रकमको योजना कानुनसम्मत छैन। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटको ग्यारेण्टी छैन,’ उनले भने, ‘करको दायरा नभई दर बढाएर जनताको ढाड सेक्ने काम गरेको छ । बजेटप्रति हाम्रो गम्भीर असहमति छ।’