बजेटमाथि मुख्यमन्त्री पोखरेलको जवाफ

जनसम्मत
असार ३०, २०७९, बिहीवार

गण्डकी प्रदेश सरकारको बजेटमा आफन्त तथा परिवारलाई समेटेको विषयमा चर्को आलोचना भएपछि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले संसद्मा जवाफ दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले सभामुखसँग विशेष समय मागेर ‘बजेट कुनै व्यक्ति र परिवारले दिएको दान उपदान नभएको’ प्रस्ट पारे।

मुख्यमन्त्रीले ट्रस्ट वा प्रतिष्ठानका नाममा छुट्ट्याइएको बजेटलाई प्रदेशको प्राथमिकताका आधारमा खर्च गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी समेत दिए ।

बजेट आवश्यक्ताको सिद्धान्तका आधारमा बनाइएको मुख्यमन्त्री पोखरेलले जिकिर गरे। विपक्षी र सत्तारुढ गठबन्धनकै दलहरुका सांसदहरुले पनि टुक्रे बजेट हालेकोप्रति आलोचना गरेका थिए।

आलोचनाको जवाफ दिदैं पोखरेलले भने, ‘भौगोलिक विकटता, छरिएको वस्ती, विशिष्ट परिस्थितिका कारण टुक्रे योजना हाल्न बाध्य भएका हौं। यसमा बजेट आवश्यकताको सिद्धान्त र प्रदेश सरकारको जिम्मेवारी भित्रै परेकाले पनि यस्तो भएको हो।’

मुख्यमन्त्री पोखरेलले कतिपय महत्वपूर्ण र गौरवका आयोजना छुटेकोपनि स्पष्ट पारे। उनले श्रोतको सीमितताका कारण अपेक्षित विकास कार्यक्रम राख्न नसकिएको उल्लेख गरे। तर, अधुरा र क्रमागत योजनालाई प्राथमिकतामा राखेर बजेट हालिने उनको भनाई थियो।

यसअघि, विभागीय मन्त्रीहरुले सम्बन्धित मन्त्रालयबारे उठेका प्रश्नहरुको जवाफ दिएका थिए। संसदमा बोल्दै अर्थमन्त्री रामजीप्रसाद बरालले वैज्ञानिक ढंगबाट बजेटको बाँडफाँट गर्ने प्रयास गरिएको बताए।

यद्यपी, गठबन्धन सरकार भएकाले सोंचेजस्तो बजेट ल्याउन नसकिएको बरालले स्वीकारे। बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सघाउनेगरी नै ल्याएको मन्त्री बरालको जिकिर थियो।