वैदेशिक रोजगार बोर्डको नीति तथा कार्यक्रम स्वीकृत

जनसम्मत
असार ३१, २०७९, शुक्रबार

वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ।

श्रम मन्त्रालयमा बिहीबार बसेको बोर्डको ७४ औं नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं बोर्डका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बोर्डको कल्याणकारी कोषको स्रोत परिचालन हुनेगरी १ अर्ब ५८ करोड १६ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ। बोर्डले विशेषगरी ९ ओटा कार्यक्रमका लागि बजेट विनियोज गरेको हो।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन बोर्डले आगामी दिनमा विशेष कार्यक्रम गर्ने बताए। बोर्डबाट प्रवाह हुने सेवा सरल, सहज र प्रविधिमैत्री बनाई सुशासन प्रवद्र्धन गर्न पहल गरिने उनको भनाइ छ। अहिले पनि वैदेशिक रोजगारीमा गएका श्रमिकले थुप्रै समस्या भोगिरहेकाले उनीहरूको समस्यालाई पनि सम्बोधन गर्नेगरी काम गर्न उनले बोर्डका कर्मचारीलाई आग्रह गरेका छन्।

नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम बोर्डको गठन भएको हो। बोर्डको नियमित कार्य संचालन वैदेशिक रोजगार बोर्डको सचिवालयले गर्दै आएको छ।