पुष्पा भुसाल उपसभामुखमा निर्वाचित

जनसम्मत
असार ३१, २०७९, शुक्रबार

नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम) संघीय संसद प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन्।

शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित भएकी हुन्।

उपसभामुखका लागि भएको मतदानमा भुसाल १४८ मतसहित विजयी भएका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाएकी छन्। तटस्थ १ मत परेको छ। कुल २४२ सदस्यको उपस्थिति थियो।

भुसाललाई सत्ता गठबन्धनको साथ थियो। भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थक लक्ष्मीकुमारी चौधरी थिइन्।

नेपाली काँग्रेसकी नेत्री भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी हुन्। यसअघि, उनी तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी डा. शिवमाया तुम्बाहाम्फेसँग पराजित भएकी थिइन्। तुम्बाहाम्फेले २०१ मत प्राप्त गर्दा भुसालले ५८ मत ल्याएकी थिइन्।

२०७६ साल माघ ६ गते उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। तुम्बाहाम्फेले राजीनामा दिएको करिब साढे २ वर्षपछि उपसभामुखको पदपूर्ति भएको हो।

नेपाली काँग्रेसकी नेत्री भुसालसँग लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेको अनुभव छ। वरिष्ठ अधिवक्तासमेत रहेका भुसालले समाजशास्त्रमा एमफील गरेकी छिन्। भुसाल विद्यार्थीकालमै पञ्चायत व्यवस्था विरुद्धको आन्दोलनमा सहभागी भएर राजनीतिमा लागेकी थिइन्।