२ लाख ५३ हजार रुपैयाँ सहित पोखराबाट ६ जुवाडे पक्राउ

जनसम्मत
असार ३१, २०७९, शुक्रबार

पोखरामा २ लाख ५३ हजारसहित ६ जना जुवाडे पक्राउ परेका छन्।

पोखरा महानगरपालिका–८ स्थित नबीन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरु पक्राउ परेका हुन्।
जुवा खालबाट २ लाख ५३ हजार नगदसहित २०८ पत्ती तास समेत प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेहरुमा मुस्ताङ जिल्ला थासाङ–३ घर भई पोखरा महानगरपालिका–८, न्यूरोड बस्ने वर्ष ३२ का नबीन गौचन, मुस्ताङ थासाङ–३ कै पोखराको पृथ्वीचोक बस्ने वर्ष ५४ का सोमत तुलाचन, पोखरा महानगरपालिका–२ अर्चलबोट बस्ने वर्ष ५३ का बिराट केसी, म्याग्दी अन्नपूर्ण–३ घर भई पोखराको न्यूरोड बस्ने वर्ष ४९ का कबिन तुलाचन, पोखरा–११ फूलबारी बस्ने वर्ष ४६ का अमित गुरुङ र पोखरा–१२ फूलबारी बस्ने वर्ष ४५ का नरकाजी गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार करिब पौने ५ बजेतिर पोखराको न्यूरोडस्थित नबीन गौचनको घरमा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउमा परेका हुन्।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट शुक्रबार ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।