पोखरा महानगरका मेयर धनराजको शाहसिक कदम

जनसम्मत
असार ३१, २०७९, शुक्रबार

पोखरा महानगरका नव निर्वाचित मेयर धनराज आचार्यले शाहसी काम गरेका छन्।

अपारदर्शी ढंगले सार्वजनिक जग्गा निजी कम्पनी भाडा लगाउने पूर्व मेयर तथा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष मानबहादुर जिसीले कार्यकालको अन्तिम समयमा गरेको निर्णयलाई नयाँ मेयर आचार्यले खारेज गरेका छन्।

पोखरा उपत्यका नगर विकास समितिको बैठकले सो सम्झौता खारेज गर्ने निर्णय गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पोखराका मेयर धनराज आचार्यले जानकारी दिएका छन्। उनका अनुसार सम्झौता खारेज गरी छानबिनका लागि विभिन्न निकायलाई पत्राचार गर्ने निर्णयसमेत गरेको मेयर आचार्यले सुनाए।

सो कार्य आफैमा दुरुपयोग भएको बताउँदै मेयर आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि पत्राचार गरिने समेत बताए। पूर्व मेयर जिसीले गत जेठ ३ मा पोखराका विभिन्न ३ ठाउँका गरी ६३ रोपनी सार्वजनिक जग्गा फरक फरक ३ कम्पनीलाई भाडामा लगाउने सम्झौता गरेको खुलेको थियो।

सो कार्यका लागि नियमित प्रकाशित नहुने एक दैनिक पत्रिकामा टेण्डरका लागि सोबारेको सूचना प्रकाशन गरिएको थियो। जसको केही प्रतिमात्र छपाई कतिपय कागजात कीर्ते देखिएकाले छानबिनका लागि नेपाल प्रहरीलाई पत्राचार समेत गर्ने समितिले निर्णय गरेको छ।

अपारदर्शी ढंगले भएको सम्झौताबारे छानबिन गर्न समितिले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो। समितिले छानबिन गरी प्रतिवेदन पेस गरेको हो। समितिका सदस्यमा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, वडा ३१ का देवेन्द्र रानाभाट, अधिवक्ता शुकदेव गौतम र झपिन्द्रराज रेग्मी छन्।