एक वर्षमा ६ लाख २८ हजार नेपालीहरु विदेशिए

जनसम्मत
असार ३२, २०७९, शनिबार

चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

कोरोना संक्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको हो। कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिएको संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार ८ सय ५ ले धेरै हो।

गएको २ वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर रोकिएको वैदेशिक रोजगारी यो वर्ष ३ दशमलव ७४ गुणाले बढेको देखिएको छ। चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या सबैभन्दा बढी मंसीर महिनामा रहेको छ।

मंसीर महिनामा ७४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम साउनमा २५ हजार ४ सय ६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। यस्तै, पुसमा झन्डै साढे ६६ हजारले श्रम स्वीकृति लिए भने जेठ र असारमा क्रमश: साढे ६२ हजार र ६० हजारले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।

यो वर्ष नेपालीका प्रमुख श्रमगन्तव्य देश साउदी अरब र कतार बनेका छन्। साउदी अरबका लागि १ लाख ८८ हजार ३ सय ९६ जनाले र कतारमा १ लाख ८४ हजार ५ सय ३ जनाले श्रमस्वीकृति लिएका छन्। चालु आर्थिक वर्षमा कम श्रम स्वीकृति लिने देशमा ओमान, जापानलगायतका देश छन्।

सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको २९ वर्षमा चालु आर्थिक वर्ष सबैभन्दा बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ। वैदेशिक रोजगार विभागका अनुसार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न सुरु गरेको थियो।