सामाजिक बिकास कार्यालय गोरखाको प्रगति ७० प्रतिशत

जनसम्मत
असार ३२, २०७९, शनिबार

सामाजिक बिकास कार्यालय गोरखाले आर्थिक वर्ष २०७८/७९ मा ७० प्रतिशत प्रगति हासिल गरेको छ।

कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा कार्यालय प्रमुख दीपेन्द्र परियारले चालु वर्ष  पुँजीगततर्फ ८२ र चालुतर्फ ४७ प्रतिशत प्रगति भएको जनाए।

२०७८ असोजमा गोरखामा सामाजिक बिकास कार्यालय स्थापना भएको हो। उक्त कार्यालयले चालु वर्ष ३६ वटा योजनामध्ये ३४ वटा पूरा गरेको जनाएको छ। जसमध्ये २ वटा योजना भने संचालन हुन नसकेको कार्यालय प्रमुख परियारले उल्लेख गरेका छन्। ३ करोड ६७ लाख बजेटमध्ये करीब ९५ प्रतिशत २ करोड ९८ लाख मात्र खर्च भएको जनाइएको छ। कार्यालयले संचालन गरेको सबै योजना उपभोक्ता समितिबाट निर्माण गरिएको छ।

विद्यालय शिक्षा सुधार, महिला हकहित, महिला शसक्तिकरण र लैङ्गिक समानता, बालवालिकाको हकहित संरक्षणसम्बन्धी कार्यक्रम कार्यन्वयन, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुको संरक्षण लगायतको क्षेत्रमा सामाजिक बिकास कार्यालयले प्राथमिकताका साथ काम गर्दै आएको जनाएको छ।