नेपालमै उत्कृष्ट, गण्डकी प्रदेशमै नं १ विन्ध्यवासिनी मावि

जनसम्मत
श्रावण १, २०७९, आइतबार

पोखराको बाटुलचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र परेको छ।

साथै, गण्डकीमै विन्ध्यवासिनी एकमात्र परेकोमा बाँकी ४ सामुदायिक मावि अन्य प्रदेशका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सर्वेक्षणमा पोखरा–१६ स्थित विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ विद्यालयभित्र परेको हो ।  आर्थिक वर्ष २०७३/०७४ देखि चालु आव २०७८/०७९ सम्म ५ वर्षको सो सर्वेक्षणमा देशभरका ६२ जिल्लाका सामुदायिक मावि तहका ५ हजार १ सय ४३ विद्यालयहरुलाई आधार लिइएको हो।

६२ जिल्लामध्ये ६० जिल्लाको नतिजा सार्वजनिक भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले जनाएको छ। परीक्षणमा विद्यालयमा लगानी, प्रक्रिया र उपलब्धि लगायत ७९ सूचक थिए। उच्चस्तरको कार्यसम्पादन भन्नाले ९० प्रतिशतभन्दा बढी हो। विन्ध्यवासिनीसहित अन्य ४ विद्यालयले ९० भन्दा बढी प्रतिशत हासिल गरेका हुन्।

सो परीक्षणमा गण्डकी प्रदेशका मात्रै ५ सय ७० विद्यालय थिए। सबैभन्दा बढी बागमतीका १ हजार २ सय १ र सबैभन्दा कम कर्णालीका ३ सय ७६ विद्यालय थिए। मूल्यांकनमा थोरैमात्र विद्यालयको कार्यसम्पादन स्तर कमजोर छ।

परीक्षणमा विद्यालय कार्यसम्पादन स्तर राम्रो हुनु भनेको सिकाइ पद्दति पनि राम्रो छ भन्ने हो। केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले जुन विद्यालयमा विद्यार्थी संख्या धेरै छ, त्यस विद्यालयको समग्र कार्यसम्पादन स्तर राम्रो देखिएको बताउँछन्।

२००४ सालमा स्थापित विन्ध्यवासिनीमा कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुने यस विद्यालयमा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय संचालित छ। यस विद्यालयमा १२ सय ५० विद्यार्थी पढ्छन् भने शिक्षक र कर्मचारी गरी ७० जना छन्।