आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु

जनसम्मत
श्रावण १, २०७९, आइतबार

आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन्।

आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन्।

सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ।

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ। नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक ५ लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन।

त्यस्तै विवाहितको हकमा ६ लाख रुपैयाँसम्म आयकर लाग्दैन। यद्यपि, आफ्नो आम्दानी १ प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ।

यसैगरी, अविवाहितको हकमा ५ देखि ७ लाख रुपैयाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ। वार्षिक २० लाख रुपैयाँभन्दा आम्दानी हुने अवस्थामा भने त्यसभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्छ।

विवाहितको हकमा ६ लाखदेखि ८ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत आयकर तिर्नुपर्ने नयाँ व्यवस्था छ। ८ लाखदेखि ११ लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत र ११ लाखदेखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्नेछ। २० लाख भन्दामाथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्नेछ। सरकारले १५ प्रतिशतले वृद्धि गरेको कर्मचारीको तलब आजैदेखि लागू हुँदैछ।