सरकारले अव्यवहारिक कार्यक्रमहरु अघि सारेर सपना बाँड्न खोजेको काँग्रेस सभापति देउवाको आरोप

आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल

जनसम्मत
वैशाख २३, २०७६, सोमबार

पोखरा । सरकारले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल शुरु भएको छ ।

छलफलमा भाग लिँदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले अव्यवहारिक कार्यक्रमहरू अघि सारेर सपना बाँड्न खोजेको आरोप लगाएका छन्। आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस पनि अहिले लिन खोजेको देउवाको आरोप छ । देउवाले आफ्नो पालामा युवा वैज्ञानिकलाइ प्रोत्साहन गर्न ल्याइएको ‘न्यानो स्याटलाइट’ कार्यक्रमलाई यो सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो गरी दाबी गरेको वताए ।

‘भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको छ,’ देउवाले सुझाव दिए, ‘यो अनुदानमा मात्र बन्नुपर्छ । वर्तमान सरकारसँग पूँजी कसरी बृद्धि गर्ने भन्ने ज्ञान सिप र योजना नै छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम छलफल गरी पारित गरियोस भनी प्रस्ताव पेश गरेपछि सभापति देउवाले उक्त टिप्पणी गरेका हुन् । सरकारको २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममा एकल र संयुक्त गरी ६ वटा संशोधन प्रस्ताव परेका छन् ।

छलफलमा भाग लिँदै सांसद राजेन्द्र महतोले संविधानले पूर्णता नपाएको टिप्पणी गरे । महतोले सरकारको नीति तथा कार्यक्रमको ७ नम्वरको वुँदामा संसोधन गर्न माग गरे ।

संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । आइतबारदेखि शुरु भएको छलफल ३ दिनसम्म प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।