नेपाल टी–२० लिग : ४ वटा टोली घोषणा

जनसम्मत
श्रावण २, २०७९, सोमबार

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका लागि आज (सोमवार) ४ वटा टोलीको घोषणा गरिएको छ।

आउँदो असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले ४ टोलीको नाम सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको टोलीमा १ नेपाली, १ अमेरिकी र २ भारतीय मालिक रहेका छन्। कान्तिपुर क्यापिटल नाम भएको नेपाली टोलीमा कान्तिपुरका महेश स्वार मालिक रहेका छन्। लुम्बिनी अल स्टार नाम रहेको दोस्रो टोलीमा अमेरिकी मालिक सञ्जय शर्मा छन्। भारतीय विक्रम यादव मालिक रहेको विराटनगर सुपर किङ्ससँग डायमन्ड डिजिक्याप प्राली जोडिएको छ। यस्तै, अर्को भारतीय टोली जनकपुर रोयल्ससँग गोल्ड स्पोर्ट्स प्राली जोडिएको छ। जनकपुरमा गौरीशंकर धमानी मालिक छन्।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। बाँकी २ टोलीको नाम र मालिक चाँडै सार्वजनिक गरिने क्यानले जनाएको छ। क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक टी–२० क्रिकेट लिग भनेर दाबी गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ।