फ्रेजर प्राइस पाँचौंपटक पनि विश्वकै तेज धाविका

जनसम्मत
श्रावण २, २०७९, सोमबार

जमैकन धाविका सेल्ली–आन फ्रेजर–प्राइस महिला १ सय मिटर दौडमा पाँचौंपटक विश्व च्याम्पियन बनेकी छन्।

३५ वर्षीय फ्रेजर–प्राइसले १०.६७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै च्याम्पियन बनेकी हुन्।

दोस्रो र तेस्रो स्थानमा पनि जमैकन खेलाडी नै रहे। सेरिका ज्याक्सनले रजत र एलाइन थम्पसन हेराहले कास्य पदक जिते।

फ्रेजर प्राइस एथलेटिक्सको ट्रयाकतर्फ एउटै व्यक्तिगत स्पर्धामा पाँचपटक विश्व च्याम्पियन बन्ने पहिलो खेलाडी बनेकी छन्।

यसैगरी,  एथलेटिक्स विश्व च्याम्पियनसीपको महिला १ सय मिटर दौडमा एउटै देशका खेलाडीले ३ वटै पदक जितेको पनि यो पहिलोपटक हो। पुरुष १ सय मिटरमा पनि यसपटक तीनवटै पदक अमेरिकी खेलाडीले जितेका थिए।

जमैकाले गत टोकियो ओलम्पिक र सन् २००८ को बेइजिङ ओलम्पिकमा पनि महिला १ सय मिटरतर्फ तीनवटै पदक जितेको थियो।
२ पटककी ओलम्पिक च्याम्पियन फ्रेजर प्राइस सन् २००९ मा पहिलोपटक विश्व च्याम्पियन बनेकी थिइन्। उनले विश्व च्याम्पियनसीपमा मात्र हालसम्म १० पटक स्वर्ण पदक जितेकी छन्।

१ सय मिटरबाहेक उनले बाँकी स्वर्ण २ सय मिटर र १ सय मिटर ४ गुणा रिलेमा प्राप्त गरेकी हुन्। सन् २०१७ मा छोरा जन्माएयता फ्रेजर प्राइसले विश्व च्याम्पियनसीपमा ३ पटक स्वर्ण पदक हात पारेकी छन्।