सुडानको जातीय दंगामा परी ६५ जनाको मृत्यु

जनसम्मत
श्रावण २, २०७९, सोमबार

सुडानको खार्तोममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ।

सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दंगाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ।

सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दंगा भएका छन्। ती घटनामा परी कम्तीमा पनि ६५ जनाको मृत्यु भएको उक्त दैनिक पत्रिकाले जानकारी दिएको छ। सो दंगामा परेर अरु दर्जनौँ व्यक्ति घाइते पनि भएका यहाँका एक सुरक्षा समितिले जारी गरेको वक्तव्यमा जनाइएको छ।

झडपका क्रममा कैयौं पसल क्षतिग्रस्त भएका छन् भने केही घरमा आगजनी पनि गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।

आइतबारसम्म सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेको जनाएका छन् भने केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेका छन्।

सुरक्षा समितिले घटनास्थलमा कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू लगाइएको क्षेत्रमा मानिसहरुलाई आवत–जावत र भिडभाड गर्न निषेध गरिएको छ। स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरूले विभिन्न हतियार प्रयोग गरेका थिए।

अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमाक्षेत्र हो। सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक संकट छ।

एजेन्सी