१९ औं एसियाडको नयाँ मिति घोषणा

जनसम्मत
श्रावण ३, २०७९, मंगलवार

१९ औं एसियाली खेलकुदको नयाँ मिति घोषणा गरेको छ।

ओसिएले आयोजक चीनसँगको सहमतिमा मंगलबार एसियाड सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हाङझावमा गर्ने उल्लेख गरेको छ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले यसअघि कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो। यसअघि, एसियाड २०२२ सेप्टेम्बर १० देखि २५ (भदौ २५ देखि असोज ९ गते) सम्म गरिने तय गरेको थियो। तर, कोरोनाको महामारी पुन: सुरु भएपछि ओसीए र आयोजक चीनले एसियाड स्थगित गर्ने निर्णय गरेको थियो। एसियाड स्थगित भएसँगै ओसीएको कार्यकारी समितिले गत मे ६ तारिख एसियाडको नयाँ मिति तय गर्न विशेष ‘टास्क फोर्स’ बनाएको थियो।

टास्क फोर्सले पछिल्लो २ महिनामा चिनियाँ ओलम्पिक कमिटी, हाङझाव एसियाली खेलकुद आयोजक कमिटी, चीन सरकार र सरोकारवालासँग छलफलगरी नयाँ मिति तय गरेको हो। ‘टास्क फोर्सले प्रस्ताव गरेको मितिलाई ओसीएले स्वीकृत गरेको समाचार संस्था एएफपीले जनाएको छ।

नेपालले एसियाडमा २३ खेलमा सहभागिता जनाउने निर्णय यस अघि नै गरिसकेको छ। सोही बमोजिम एसियाडका लागि नेपाली खेलाडीको दोस्रो चरणको छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ।

एसियाडमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबलटेनिसमा भाग लिने निर्णय गरेको छ। एसियाडमा नियमित सहभागिता जनाउँदै आएको नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन।