अति लोपोन्मुख जाति कुसुण्डा बालिका सीमान्तको शिक्षा/स्वास्थ्य सहयोग अभियान घोषणा

कुसुण्डा बालिका सीमान्तको शिक्षा/स्वास्थ्यका लागि सहयोग अभियान

जनसम्मत
वैशाख २३, २०७६, सोमबार

दमौली । अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा गरिएको छ ।

नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो ।

साभ नेपालका अध्यक्ष तुलसी प्रवासले आइतबार दमौलीमा सीमान्त कुसुण्डा सहयोग अभियानको औपचारिक रूपमा घोषणा गरे । नेपालकै अति लोपोन्मुख जातिको रूपमा रहेका राजामामा कुसुण्डाको गत वर्ष निधन भएको थियो । कुसुण्डा परिवारको आर्थिक अवस्था ज्यादै दयनीय रहेकाले सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान शुरु गरिएको प्रवासले जानकारी दिए । अभियानअन्तर्गत पहिलो सहयोग साभ नेपालले नै गरेको छ । साभ नेपालको तर्फबाट सहयोग अभियानमा रु १० हजार सहयोग गर्ने प्रवासले प्रतिबद्धता जनाएका छन् ।

उनका अनुसार अभियानका लागि देश तथा विदेशबाट समेत सहयोगको प्रतिबद्धता आएको छ । सीमान्तलाई कक्षा १२ सम्म पढाउने र उनको स्वास्थ्य उपचार खर्च सबै ब्यहोर्ने उद्देश्यले सहयोग अभियान घोषणा गरिएको हो । अभियानबाट संकलित रकमले कोष बनाइनेछ । उक्त कोषबाट प्राप्त रकमले सीमान्तको शिक्षा र स्वास्थ्य उपचारमा सबै खर्च गरिनेछ ।

‘सिधै हातमा पैसा दिनेभन्दा पनि स्वास्थ्य र शिक्षामा लगानी गर्ने उद्देश्य हो,’ प्रवासले भने, ‘साथै चाडपर्वको समयमा चाडपर्व मनाउन समेत केही पैसा दिने योजना बनाएका छौँ। अभियानबाट संकलित रकमलाई पारदर्शी बनाउँछौं ।

सीमान्त व्यास नगरपालिका–१० डिहीगाउँस्थित शतिस बोर्डिङ स्कूलमा अध्ययनरत छिन् ।

‘राजामामा कुसुण्डा’ की छोरी सीमान्त

सीमान्त, नेपालकै लोपोन्मुख कुसुण्डा जाति राजामामाकी छोरी हुन । कुसुण्डा राजामामाको गत वर्ष वैशाख ५ गते निधन भएको थियो । व्यास नगरपालिका वडा नम्बर १० डिहीगाउँमा बस्दै आएका राजामामाको ७५ वर्षको उमेरमा निधन भएको थियो । कुसुण्डा जातिको भाषा बोल्न जान्ने राजामामा एक मात्र व्यक्ति थिए ।

राजामामा बिहान चार बजे शौचालय जाने क्रममा घर अगाडि लडेका थिए । राजामामाकी श्रीमती इन्द्रमायाले छिमेकीको सहयोगमा उठाएर खाटमा सुताएपछि राजामामाले चिया समेत पिएका थिए । चिया पिएर सुुतेका राजामामा बिहान धेरै बेरसम्म नउठेपछि उनको निधन भएको थियो । राजामामाको पार्थिव शरीरमा १० वर्षीया छोरी सीमान्तले दागबत्ती दिएकी थिइन् । उनको दाहसंस्कारको खर्च व्यास नगरपालिकाले उपलब्ध गराएको थियो । राजामामाको निधनपछि उनकी श्रीमती ईन्द्रमायाले काज किरिया गरेकी थिइन् ।

राजामामालाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो । प्रतिष्ठानले २०६१ सालतिर इन्द्रमाया तामाङसँग बिहे गराइदिएको थियो ।

राजामामा गाउँमा ‘कुसुन्डा कान्छा’ भनेर चिनिन्थे । पछि आदिवासी जनजाति अगुवाहरुले उनलाई ‘राजा मामा’ नाम दिएका हुन् । उनले तनहुँ जिल्ला प्रशासन कार्यालयबाट पनि ‘राजा मामा कुसुन्डा’ नामबाट नागरिकता बनाएका थिए । राजामामालाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले घरसमेत बनाइदिएको थियो ।

सांसद श्रेष्ठ, राजामामाको शवयात्रामा सरिक

यसैबीच, राजामामाको पार्थिव शरीरमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले श्रद्धाञ्जली व्यक्त गरेका थिए । राजामामाको निधन भएको थाहा पाउने बित्तिकै घरमा पुगेका श्रेष्ठले राजामामाको पार्थिव शरीरमा माल्यार्पण गरेका थिए ।

सांसद श्रेष्ठले राजामामाकी श्रीमतीलाई सान्त्वना दिदैं शवयात्रामा सरिक भएर राजामामाको पार्थिव शरीरमा काँधसमेत थापेका थिए ।