श्वेतगंगा हाइड्रोको २२ लाख ७० हजार कित्ता आइपीओ बिक्री खुला

जनसम्मत
श्रावण ४, २०७९, बुधबार

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (बुधबार) साउन ४ गतेदेखि प्राथमिक शेयर ¬(आइपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आइपीओ निष्काशन गरेपछि अब सर्वसाधारणका लागि विक्रि खुला गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा साउन ८ गते हुनेछ भने ढिलोमा साउन १८ गते हुनेछ। आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।